रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

एमाले कालिकोटमा उम्मेदवार छनोट विवाद, अध्यक्षको सिफारिसत्र र सचिवको सिफारिस गर्न बैठक पत्र एकै दिन सार्वजनिक

    कालिकोट /नेकपा (एमाले) कालिकोटमा प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि उम्मेदवार छनोट प्रक्रिया विवादमा परेको छ। सोमबार काठमाडौँमा रहेका कालिकोट जिल्लाका केही नेताहरूको छलफलपछि उम्मेदवार सिफारिस गरिएको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि चुलिएको हो।

जिल्ला बाहिर बसेर उम्मेदवार सिफारिस गरिएको र त्यसमा पनि एकलौटी निर्णय गरिएको आरोप लगाउँदै केन्द्रीय सदस्य इन्दिरा सन्ज्याल, कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य रमेश शाहीलगायत नेताहरूले खुलेर विरोध जनाएका छन्।

सोमबार एमाले कालिकोट अध्यक्ष तुलाराज मल्लले एमाले युवा संघका केन्द्रीय सचिवालय सदस्य वकिल बमसहित तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेका थिए। तर यो सिफारिस प्रक्रिया जिल्ला कमिटीसँग पर्याप्त परामर्श नगरी राजधानीमै गरिएको भन्दै विवाद उत्पन्न भएको हो।

सिफारिसपछि सान्नीत्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष तथा पार्टी प्रदेश कमिटी सदस्य पार्वती सिंहले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार जिल्ला तहबाटै छनोट भएको भए उपयुक्त हुने उल्लेख गरेकी छन्। उनले पार्टीको राष्ट्रिय महाधिवेशनपछि एकता, समन्वय र सहकार्यमा जोड दिनुपर्ने बताउँदै आफूअनुकूल निर्णय नभएपछि सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप गर्नुको सट्टा जिल्ला फर्केर जनाधार बलियो बनाउन नेताहरूलाई आग्रह गरेकी छन्।

त्यसैगरी एमाले कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य रमेश शाहीले पनि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया जनाउँदै बैठक र निर्णयको वैधानिकतामाथि प्रश्न उठाएका छन्। उनले काठमाडौँमा जिल्ला पार्टी अध्यक्षको अध्यक्षतामा बैठक आयोजना गरिएको र सोही मितिमा जिल्ला सचिवले कालिकोटमै बैठकको सूचना जारी गरेको विषयलाई “नौटंकी र किर्ते” को संज्ञा दिएका छन्। “कुन बैठक आधिकारिक हो ?” भन्दै उनले उम्मेदवार सिफारिस प्रक्रिया नाटकजस्तो भएको आरोप लगाए।

यसैबीच, कार्यकर्ताहरूले पनि राजधानीमा बसेर उम्मेदवार सिफारिस गर्ने निर्णयको विरोध गरेका छन्। यद्यपि जिल्ला सचिव पुष्पराज आचार्यले आगामी २३ गते जिल्ला कमिटी बैठक बोलाएका छन्। तर यसअघि नै उम्मेदवार सिफारिस गरिसकेपछि त्यसपछिको बैठकको कुनै अर्थ नहुने रमेश शाहीको भनाइ छ।

पार्टीभित्र देखिएको यो विवादले एमाले कालिकोटमा आगामी निर्वाचनलाई लिएर आन्तरिक असन्तोष गहिरिँदै गएको संकेत गरेको छ।

एमाले निकट प्रेसकर्मिहरूको संगठन प्रेस चौतारीका अध्यक्ष बिस्वनाथ सिमखाडाले कालिकोटको बैठक किन काठमाण्डौ गरेको  स्वार्थ नमिले ? भन्दै  आरोप लगाएका छन ।

काठमाण्डौमै बसेर उमेद्वार सिफारीस  गर्नेमा दुइ कम्युनिष्ट पार्टी नेकपा एमाले र नेपालि कम्युनिष्टपार्टी परेका छन । कांग्रेसले जिल्लामै बृहत छलफल गरेर उमेदार सिफारीस गरेको थियो । जिल्लामै पनि कांग्रेसले  असन्तुष्टहरूको बिरोध सामना गर्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !