कालिकोट, असार १५ – सान्नी त्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको संयुक्त आयोजनामा सञ्चालन भएको शिक्षकको पेशागत क्षमता विकास तथा शिक्षक सहायता सम्बन्धी तीनदिने कार्यशाला रास्कोटमा सम्पन्न भएको छ।
असार १३ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको कार्यशालामा दुवै स्थानीय तहका ३० जना स्थायी शिक्षक सहभागी रहेका थिए। कार्यशालाको मुख्य उद्देश्य विद्यालयस्तरमा शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्नुका साथै प्रभावकारी शिक्षक सहायता संयन्त्र निर्माण गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यशालामा शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने उपाय, शिक्षकबीच अनुभव आदानप्रदान, सहयोगात्मक सिकाइ, कक्षाकोठा व्यवस्थापन, निरन्तर पेशागत विकास तथा शिक्षक सहायता प्रणाली निर्माणका विषयमा अन्तरक्रियात्मक छलफल, समूह कार्य र अभ्यास लगाएतका क्रियाकलाव गराइएको थियो।
ब्रिटिस काउन्सिल र युनिसेफ ले प्राविधिक सहयोग तथा सहजीकरण रहेको थियो । सहभागी शिक्षकहरूले कार्यशालाबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई विद्यालयमा व्यवहारमा उतार्दै शिक्षण सिकाइको गुणस्तर सुधारमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आयोजकका अनुसार कार्यशालाले शिक्षकहरूबीच सहकार्य र अनुभव आदानप्रदानको संस्कृतिलाई मजबुत बनाउनुका साथै स्थानीय तहमा दिगो शिक्षक सहायता संयन्त्र निर्माण गर्न महत्वपूर्ण आधार तयार गर्ने विश्वास लिइएको रास्कोट नगरपालिका शिक्षा ,युवा तथा खेलकुद साखाका प्रमुख शिक्षा अधिकृत खेमराज शाहीले बताए । तिन दिन सम्म चल्ने कार्यशालाको रास्कोट नगरका प्रमुख धर्मराज शाहीले उद्घाटन गरेका थिय ।










