कालिकोट/दैलेख, असार १८ — सुर्खेतबाट कालिकोटको रास्कोट तर्फ जाँदै गरेको देउती–बुलबुले यातायात प्रालिको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङलेतारा क्षेत्रमा दुर्घटनामा परी कर्णाली नदीमा खसेको छ।
प्रहरीका अनुसार बिहान करिब ११ः३० बजे भएको दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा उद्धार सामग्रीसहितको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। प्रारम्भिक जानकारीअनुसार गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ।
सुर्खेत बसपार्क काउन्टरवाट तिन जनामात्रै यात्रुको चलानि बुजेर आएको उक्त गाडिमा बिचमा के कति यात्रुले चढे त्यो एकिन हुन नसकेको बताईएको छ । हालसम्म परिचय खुल्न नसकेका एक जना पुरुष मात्र भिरमा अड्किएको अवस्थामा देखिन्छन अरू सबै गाडिसमेत नदिमा डुबेकाले गाडिमा सवार के कति जना थिय जानकारि पाउन कठिन भएको छ । एक जना भेटिएका पुरूष पनि जीवित वा मृत अवस्थाबारे आधिकारिक पुष्टि नभएको अवस्थामा छ। उनलाई नदीबाट निकालेर सडकतर्फ ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी, स्थानीयवासी उद्धार गरिरहेका छन्।
दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ। प्रहरीले उद्धार तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।










