कालीकोट, कर्णाली प्रदेश सरकारको लगानीमा कालिकोटको सान्नित्रिवेणी गाउपालिका स्थित बडीमालिका–त्रिवेणी पाटन क्षेत्रमा निर्माण गरिएका विभिन्न भौतिक पूर्वाधारहरू औपचारिक रूपमा सान्नीत्रिवेणी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।
डिभिजन वन कार्यालय कालीकोटले आइतबार आयोजित कार्यक्रममार्फत निर्माण सम्पन्न भएका संरचनाहरू गाउँपालिकालाई हस्तान्तरण गरेको हो। हस्तान्तरण गरिएका संरचनामा भवन, ताल, १०८ धारा, शौचालय, ड्रेस चेन्जरूम भवन, सोलार प्रणाली, हेलिप्याड, प्रवेशद्वार (गेट), मन्दिर, खानेपानीलगायतका पूर्वाधारको अव रेखदेख गर्ने र मर्मत सम्भार गर्ने काम अव सान्नित्रिवेणी सरकारको हुने छ ।
संरचना हस्तान्तरणपछि गाउँपालिका अध्यक्षले कर्णाली प्रदेश सरकार तथा डिभिजन वन कार्यालय कालीकोटप्रति आभार व्यक्त गर्दै योजना सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन्। उनले समयमै निर्माण सम्पन्न गर्ने मजदुर निर्माण कन्स्ट्रक्सन प्रालि, सुर्खेतलाई पनि बधाई तथा धन्यवाद व्यक्त गरेका छन्।
अध्यक्षले उक्त योजनाका प्रमुख परिकल्पनाकार कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री तथा हाल प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीप्रति विशेष धन्यवाद व्यक्त गर्दै योजना कार्यान्वयनका क्रममा सहयोग गर्ने प्रदेश सरकार, कर्मचारी, कामदार तथा अन्य सरोकारवाला सबैको योगदान प्रशंसनीय रहेको बताए।
उनले अब गाउँपालिकाले हस्तान्तरण भएका संरचनाको संरक्षण, संवर्द्धन र प्रभावकारी व्यवस्थापनमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता समेत जनाएका छन्। साथै आगामी दिनमा आवश्यक थप सहयोगका लागि कर्णाली प्रदेश सरकार, जिल्ला समन्वय समिति कालीकोट तथा जिल्लाका नौवटै स्थानीय तहसँग सहकार्य र सहयोगको अपेक्षा रहेको बताएका छन्।
बडीमालिका–त्रिवेणी पाटन धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य मानिन्छ। निर्माण सम्पन्न भएका पूर्वाधारले तीर्थयात्री र पर्यटकलाई सहज सेवा उपलब्ध गराउनुका साथै क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।










