टिकाराज उपाध्याय रास्कोट ~कालिकोट। रास्कोट नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (LISP) को साझेदारीमा नगर क्षेत्रका विभिन्न स्थानमा ३० वटा सोलार सडक बत्ती जडान गरिएको छ। योजनाअन्तर्गत ३० वटा पोलमा ४० वाट क्षमताका LED सडक बत्ती स्थापना गरिएको हो।
कुल रु. २१ लाख ३४ हजार ५०० लागतमा सम्पन्न भएको यस योजनामा रास्कोट नगरपालिकाले रु. ४ लाख २६ हजार ९०० तथा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (LISP) ले रु. १७ लाख ७ हजार ६०० आर्थिक योगदान गरेका छन्।
यसअघि रास्कोट बजार क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको भए पनि सडक बत्तीको अभावका कारण रातिको समयमा बजार क्षेत्र अन्धकार रहने अवस्था थियो। मौसम प्रतिकूल हुँदा विद्युत् आपूर्तिमा पटक–पटक अवरोध आउने भएकाले आवागमन तथा दैनिक गतिविधि सञ्चालनमा समेत कठिनाइ हुने गरेको थियो।
सोलार सडक बत्ती जडान भएपछि बजार क्षेत्र उज्यालो बनेको छ। स्थानीयवासीका अनुसार यसले विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य सर्वसाधारणलाई रातिको समयमा सुरक्षित रूपमा आवतजावत गर्न सहज बनाएको छ। बजार क्षेत्रमा सुरक्षा अनुभूति बढ्नुका साथै सामाजिक तथा आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ।
रातिको समयमा बजार उज्यालो भएपछि स्थानीय व्यापार–व्यवसाय सञ्चालनको समयसमेत लम्बिएको छ। साँझपछिसमेत ग्राहकको सहज आवागमन हुन थालेपछि व्यवसायीहरूको कारोबार र आम्दानीमा क्रमिक वृद्धि भएको अनुभव उनीहरूले साझा गरेका छन्।
रास्कोट नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (LISP) बीचको सहकार्यमा सम्पन्न यो योजना नगरवासीको दैनिक जीवनलाई थप सुरक्षित, सहज र व्यवस्थित बनाउने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। स्थानीयवासीले यस्ता जनमुखी, दिगो तथा विकासमुखी पूर्वाधार कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।










