कालीकोट — शनिबार साँझ करिब ६ः२० बजेदेखि अवरुद्ध भएको कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। राजमार्गअन्तर्गत दैखोलामा माथिबाट लेदोसहितको भीषण पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
पहिरो पन्छाउन डोजर तथा एक्स्काभेटर घटनास्थलमा पुर्याउन समय लागेका कारण सडक खुलाउन ढिलाइ भएको हो। पहिरो पन्छाउने क्रममा गगनेखोला नपुग्दै एसमोडमा ठूलो ढुङ्गासहित अर्को पहिरो खसेपछि सडक सञ्चालनमा थप समय लाग्ने भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताउनुभएको छ।
प्रमुख महताराका अनुसार खुलालुमा रहेको निर्माण व्यवसायीको ‘चाइनावाला’ एक्स्काभेटर बिग्रिएको जानकारी आएपछि आइतबार बिहानै कालीकोटको सेराबाडा सडक क्षेत्रमा रहेको अर्को एक्स्काभेटर पहिरो पन्छाउन पठाइएको थियो। तर, उक्त एक्स्काभेटरले बकेट मात्र ल्याएकाले एसमोडमा खसेको ठूलो ढुङ्गा फुटाउन ब्रेकर आवश्यक परेकाले समय लाग्ने उहाँले बताउनुभयो।
उहाँका अनुसार लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा थप चुनौती देखिएको छ। मौसममा सुधार नआए सडक सञ्चालनमा ल्याउन सोमबारसम्म समय लाग्न सक्ने उहाँले बताउनुभयो।
सडक अवरुद्ध हुँदा बीच बाटोमै रोकिएका यात्रु तथा सवारीसाधनले सास्ती खेपिरहेका छन्। रास्कोटबाट बिरामी लिएर सुर्खेततर्फ जाँदै गरेकी रास्कोटकी पूर्वउपमेयर मिमसरा बमले सडकको अवस्थाबारे समयमै सूचना तथा अपडेट नहुँदा यात्रुहरू थप समस्यामा परेको बताउनुभयो।
उहाँले भन्नुभयो, “सडक अवरुद्ध भएको सूचना पटक–पटक अपडेट भएको भए यात्रुहरू सुविधासम्पन्न ठाउँमा बस्न सक्थे। सूचना नहुँदा यात्रुहरू दैखोलामा जम्मा भएका छन्। यहाँ न खाने राम्रो ठाउँ छ, न बस्ने व्यवस्था। जाममा परेका यात्रुहरू पनि निकै जोखिममा छन्।”
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख महताराका अनुसार आइतबार नयाँ यात्रा सुरु गरेका सवारीसाधनलाई साँझ ५ बजेसम्म पहिरो पन्छाएर आवतजावत गराउने पहल गरिएको भए पनि सम्भव नभएकोबताएका छन । तर, निरन्तर वर्षाका कारण तत्काल सडक खुलाउन नसकिने अवस्था देखिएको र सोमबारसम्म समय लाग्न सक्ने उहाँले बताउनुभएको छ।
यसैबीच, लगातारको वर्षाका कारण कर्णाली राजमार्गको एसमोड नजिक पनि पहिरो खसेको छ। कर्णाली राजमार्ग तथा कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम उच्च रहेकाले सावधानी अपनाएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय कालीकोटले आग्रह गरेको छ।
वर्षाका बेला सडक माथिबाट पहिरो, ढुङ्गा तथा लेदो खस्ने सम्भावना उच्च हुने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले आग्रह गर्नुभएको छ। उहाँले सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न तथा सम्भावित दुर्घटनाबाट जोगिन रातिको समयमा यात्रा नगर्नसमेत सबैमा अपिल गर्नुभएको छ।










