सुर्खेत, १४ कात्तिक।समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, कालागाउँमा बैंकिङ कसुर तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र जनहित सहकारी संस्थाको समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रममा सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बैंकिङ कसुरका विभिन्न स्वरूप, आर्थिक कारोबार गर्दा अपनाउनुपर्ने सावधानी, अनलाइन ठगी, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत विवरण तथा बैंकिङ सूचनाको गोपनीयता र साइबर अपराधबाट बच्ने उपायलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
बढ्दो प्रविधिको प्रयोगसँगै बैंकिङ कारोबार तथा साइबर अपराधका जोखिमसमेत बढ्दै गइरहेको अवस्थामा नागरिकलाई सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
यस्ता सचेतनामूलक कार्यक्रमले बैंकिङ कारोबारलाई सुरक्षित बनाउन, साइबर अपराध न्यूनीकरण गर्न तथा सहकारी क्षेत्रका पदाधिकारी र कर्मचारीलाई थप जिम्मेवार र सचेत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।










