जुम्लामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) प्रकाश बहादुर शाही २०८३ साल बैशाख महिनाकोसर्वोत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन्। राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय सुर्खेतले उनलाई सर्बोउत्कृष्ट घोषणा गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका कार्यालय प्रमुखसमेत रहेका सई शाहीले विभागीय मूल्य मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै व्यावसायिक, इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित रूपमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।
उनले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थिए। स्थानीय सरोकारवाला निकायहरूसँग समन्वय गरी राजमार्ग क्षेत्रका सडकखण्डहरूमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक तथा दर्घटना संकेत बोर्डहरू जडान गर्ने, सुरक्षित र व्यवस्थित यातायात प्रणाली विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने कार्यमा उनले महत्वपूर्ण योगदान पुर्याएका छन्।
त्यस्तै, बिना हेलमेट, सिट बेल्ट, लाइसेन्स तथा सार्वजनिक बिदाको दिन पासबिना सञ्चालन हुने सरकारी सवारी साधनमाथि विशेष चेकजाँच अभियान सञ्चालन गरी आवश्यक कारबाही गरिएको थियो। चालक, सह चालक, विद्यार्थी, पैदलयात्री तथा सर्वसाधारणलाई लक्षित गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै जनचेतनामूलक सामग्री निर्माणमा समेत उनले सक्रिय भूमिका खेलेका थिए।
सई प्रकाश शाहीको कार्यसम्पादनलाई उच्च मूल्यांकन गर्दै “सर्वोत्कृष्ट ट्राफिक प्रहरी छनोट मार्गदर्शन २०८२ बमोजिम उनलाई बैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको हो।










