रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

बजारमा शिशुका कृत्रिम आहार बिक्री,वितरण रोक्न स्वास्थ्य कार्यालयको निर्देशन

बजारमा शिशुका कृत्रिम आहार बिक्री–वितरण रोक्न स्वास्थ्य कार्यालयको कडा निर्देशन मान्मा, कालीकोट, असार १९ — स्वास्थ्य सेवा कार्यालय कालीकोटले आमाको दूधलाई प्रतिस्थापन गर्ने कृत्रिम शिशु आहार तथा खाद्यपदार्थको बिक्री–वितरण तत्काल बन्द गर्न बजारका व्यवसायीलाई कडा निर्देशन दिएको छ। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ को प्रभावकारी कार्यान्वयनका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा कार्यालयले यस्तो निर्देशन दिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. रत्नवीर सुनारले शिशुको शारीरिक तथा मानसिक विकास, पोषण र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आमाको दूधभन्दा उत्तम विकल्प नरहेको बताउनुभयो। उहाँले बजारमा विभिन्न औषधि पसल तथा व्यापारिक प्रतिष्ठानहरूले कृत्रिम शिशु आहारका ब्रान्ड प्रदर्शन गर्ने, बिक्री प्रवर्द्धन गर्ने तथा सामाजिक सञ्जालमार्फत समेत अवैध प्रचारप्रसार गर्ने कार्य बढ्दै गएको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने आवश्यकता औँल्याउनुभयो। सरकारी वकिल ठाकुरराम भण्डारीले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ विपरीत हुने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्नुभयो। कानुनले प्रतिबन्ध लगाएका शिशु आहारको बिक्री–वितरण वा प्रचारप्रसार गरेको पाइएमा सम्बन्धित व्यक्ति वा व्यवसायीविरुद्ध तत्काल कानुनी प्रक्रिया अघि बढाइने उहाँले चेतावनी दिनुभयो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्मा, खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशराज जोशीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कानुनको पूर्ण पालना गर्दै आमाको दूध प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतका अनुसार बजारमा भइरहेको अवैध बिक्री–वितरण तथा प्रचारप्रसार नियन्त्रण गर्न केही दिनभित्रै सम्बन्धित निकायहरूको समन्वयमा आकस्मिक तथा कडा बजार अनुगमन सुरु गरिनेछ। कार्यालयले शिशुको स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा कानुनविपरीत हुने कुनै पनि गतिविधि नगर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !