कालिकोट। कालिकोटको रास्कोट नगरपालिका–१ स्थित धान्दे काडा क्षेत्रमा जङ्गली सुँगुरले धानबालीमा क्षति पुर्याएको छ। जङ्गली सुँगुर खेतमा पसेर धानबाली नष्ट गरेपछि स्थानीय किसान चिन्तित बनेका छन्।
स्थानीय किसान धर्मजी तिरुवाका दुई अलग-अलग खेतमा जङ्गली सुँगुर पसेर धानबाली नष्ट गरेको बताइएको छ। पहिलो खेतमा २०८३ साल कात्तिक ११ गते र दोस्रो खेतमा कात्तिक १३ गते जङ्गली सुँगुर पसेर धानबालीमा क्षति पुर्याएको हो।
वर्षभरि मेहनत र पसिना बगाएर उत्पादन गरेको धानबाली जङ्गली जनावरले नष्ट गरेपछि किसान तिरुवा आर्थिक रूपमा कम्जोर रहेकाले समस्यामा पर्ने चिन्तामा छन्। खेतीपातीबाटै परिवारको जीविकोपार्जन गर्दै आएका किसानका लागि धानबालीमा भएको क्षति ठूलो पीडाको विषय बनेको छ।
जङ्गली जनावरले किसानको वर्षभरिको मेहनत नष्ट गर्दा क्षतिकोमाग गरेका छन । पीडित किसानले राहत तथा क्षतिपूर्ति कसरी पाउने भन्ने समेत अनबिज्ञता रहेको छ ।
पीडित किसानले सम्बन्धित वडा कार्यालय, रास्कोट नगरपालिका, डिभिजन वन कार्यालयलगायत सरोकारवाला निकायसँग घटनाको स्थलगत अनुगमन गरी क्षतिको यकिन विवरण संकलन गर्न तथा उचित राहत र क्षतिपूर्तिका लागि पहल गर्न माग गरेका छन्।
किसानको मेहनत र पसिनाको उचित मूल्याङ्कन गर्दै जङ्गली जनावरबाट हुने खेतीबालीको क्षति न्यूनीकरण तथा पीडित किसानलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ।










