कालिकोट । कालिकोटको रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि स्थानीयवासीमा खुसियाली छाएको छ। शुसिला कार्की नेतृत्वक सरकारले शुक्रबार प्रदेश निर्वाचन क्षेत्र नं. ‘ख’ लाई लक्षित गर्दै रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै रास्कोटसहित आसपासका स्थानीय तहका नागरिक उत्साहित भएका हुन्। रास्कोटमा शनिवार दिप प्रज्वलन गरि सरकारी निर्णयको स्वागत गरेका छन । रास्कोट नगरपालिकाको आरसिपी बजारमा नगर प्रमुखधर्मराज शाही सहित नगरको आयोजनामा दिप प्रज्वलन गरिएको हाम्रा सहकर्मी टिकाराज उपाध्यायले बताउनु भयो।
रास्कोट नगरपालिकासँगै सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकालाई सेवा दिने गरी इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो। यस निर्णयले लामो समयदेखि नागरिकले भोग्दै आएको सेवा पहुँचको समस्या समाधान हुने अपेक्षा गरिएको छ।
इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णयपछि खुसियाली छाएको रास्कोट नगर प्रमुख धर्मराज शाहीले बताउनुभयो। “रास्कोटका नागरिकको वर्षौंदेखिको माग पूरा भएको छ,” उहाँले भन्नुभयो, “अब सामान्य प्रशासनिक सेवाका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता हट्नेछ।”
नगर प्रमुख शाहीका अनुसार इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि नागरिकता बनाउनकै लागि कम्तीमा तीन दिनको समय र करिब तीन हजार रुपैयाँ खर्च जोगिनेछ। यसले स्थानीय नागरिकको समय, श्रम र आर्थिक भार घट्ने विश्वास लिइएको छ।
यस्तै रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बरालले नागरिकता तथा अन्य प्रशासनिक सेवाका लागि करिब ७० हजार बासिन्दाले सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो। “संघीयताको मर्मअनुसार नागरिकलाई घरदैलोमै सहज सेवा उपलब्ध गराउने राज्यको यो निर्णय स्वागतयोग्य छ ।
इलाका प्रशासन कार्यालय स्थापना भएपछि दुर्गम र पहाडी भूगोलका नागरिकले प्रशासनिक सेवा सहज, छरितो र सुलभ रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ। स्थानीय तहका जनप्रतिनिधि तथा नागरिकले सरकारको निर्णयप्रति आभार व्यक्त गर्दै छिटो कार्यान्वयनको माग गरेका छन्।










