कालिकोट ~ नरहरिनाथ गाउँपालिका वडा नं. ३ कुमालगाउँमा २७ वर्षीया मानपुरा बुढाको रहस्यमय मृत्यु भयको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख हिम बहादुर खत्रीका अनुसार मृतकको टाउकोमा गम्भीर चोटपटक देखिएको प्रारम्भिक विवरण प्राप्त भएको छ। घटनास्थलको अवस्था हेर्दा मृत्यु स्वाभाविक नभई शंकास्पद देखिएको उनले बताए।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानकै क्रममा मृतकका श्रीमान् कासिराम बुढाले कुटपिट गरी हत्या गरेको हुन सक्ने आशंका गरिएको छ। सोही आधारमा उनलाई नियन्त्रणमा लिई थप
अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तुरुन्तै घटनास्थल पुगेको थियो। हाल घटनास्थलमा मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
मृतकको शवलाई माईती पक्ष आयपछि पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेक छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको यथार्थ कारण खुल्नेप्रहरीको भनाइ छ।
स्थानीय वडा अध्यक्ष कटक बहादुर बुढा का अनुसार श्रीमान्–श्रीमतीबीच केही समयदेखि पारिवारिक विवाद भइरहेको हुन सक्ने अनुमानसमेत गरेका छन्, यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान तीव्र बनाएको जनाएको छ। “वास्तविकता विस्तृत अनुसन्धानपछि मात्रै बाहिरआउनेछ,” प्रहरी प्रमुख खत्रीले बताए।










