सुर्खेत । कालिकोटको रास्कोट नगरपालिका–५, रानागाउँका समाजसेवी कुमारसिंह रोकायाको दम (अस्थमा) सम्बन्धी स्वास्थ्य समस्याका कारण सुर्खेतस्थित प्रदेश अस्पताल, कालागाउँमा उपचारका क्रममा ६२ बर्षको उमेरमा मंगलबार निधन भएको छ।
वि.सं. २०२१ माघ १० गते बुवा मनसर रोकाया र आमा औँला रोकायाको कोखबाट जन्मिएका रोकाया तीन दाजुभाइमध्ये जेठा छोरा हुन्। देशमा जनयुद्धका क्रममा उनले लामो समय प्रमुख प्रवासमै बिताएका थिए। पछिल्ला केही वर्षदेखि दम रोगबाट पीडित रहेका उनी उपचारका लागि सुर्खेतमै बसोबास गर्दै आएका थिए।
संघीयता लागू भएपछि सम्पन्न पहिलो स्थानीय तह निर्वाचनमा उनले वीरेन्द्रनगर नगरपालिका–४ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। सामाजिक सेवामा सक्रिय रोकाया शिक्षित युवाका रूपमा आफ्नो गृह जिल्ला कालिकोटमा परिचित थिए। सामाजिक कार्य र जनसेवामा उनको विशेष रुचि रहेको आफन्त तथा स्थानीयले बताएका छन्।
उनको पार्थिव शरीरको बुधबार सुर्खेतस्थित भेरी आर्यघाटमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने परिवारिक श्रोतले जनाएको छ।
रोकायाका जेठा छोरा विकास रोकाया रोजगारिको शिलशिलामा दुबईमा छन भने कान्छा छोरा आकाश रोकाया नेपालमै छन । जेठी छोरी सीता रोकाया पनि रोजागरीकै लागी इटालीमा र अञ्जु रोकाया परिवारसँगै रहेका छन्।
उनको निधनसँगै परिवार शोकमा डुबेको छ भने आफन्त, शुभेच्छुक तथा स्थानीयवासीले एक सामाजिक व्यक्तित्व गुमाएको बताएका छन्।










