कालीकोट । नागरिकको आपत्कालीन उद्धार, स्वास्थ्य सेवा र सार्वजनिक सुरक्षाका लागि आवश्यक सरकारी सवारीसाधनको अभाव कालीकोटका स्थानीय तहमा देखिएको छ । भएका सवारीसाधनसमेत उचित व्यवस्थापन र प्रयोगमा नआउँदा नागरिकले सामान्यदेखि गम्भीर आपत्कालीन अवस्थामा समेत सास्ती खेप्नुपरेको छ ।
एम्बुलेन्स, शववाहन, दमकल, डोजर, स्काभेटरलगायतका साधन हरेक सरकारका लागि अत्यावश्यक र आपत्कालीन अवस्थामा तत्काल परिचालन हुनुपर्ने साधन हुन् । तर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाहेक अधिकांश स्थानीय तहमा यस्ता साधनको पर्याप्त उपलब्धता र सहज पहुँच छैन । कालीकोटका महावै ,पलाता र पचालझरनाका केही भूभागबाहेक अधिकांश स्थानीय तहका वडासम्म सडक सञ्जाल पुगे पनि एम्बुलेन्स, दमकल र शववाहन सेवा नागरिकको सहज पहुँचमा पुग्न सकेको छैन ।
यसको एउटा उदाहरण केही दिनअघि कालीकोट सदरमुकाम नजिकै भएको सवारी आगलागीको घटना हो । एउटा गाडीमा आगलागी हुँदा तत्काल दमकल उपलब्ध नभएकै कारण करिब तीन घण्टासम्म गाडी जलेर खरानी भयो । दसैँ मनाउन पुर्ख्यौली घर फर्किएका यात्रुका लत्ताकपडा, गरगहना तथा अन्य अत्यावश्यक सामग्रीसमेत जलेर नष्ट भए । यात्रुहरू ज्यान जोगाएर गहभरी आँसु लिएर अर्को गाडीमा घर फर्किन बाध्य भए । तर घटनास्थलमा तत्काल आगो नियन्त्रण गर्न सक्ने दमकल उपलब्ध गराउन नजिकै रहेको प्रहरी, प्रशासन, खाँडाचक्र नगरपालिका र जिल्ला समन्वय समितिसँग समेत आवश्यक साधन थिएनन् ।
त्यस्तै, यसै साता खाँडाचक्र नगरपालिका–२ मा ग्यासजन्य आगलागीबाट एउटा घर ध्वस्त भएको घटना पनि सार्वजनिक भएको छ । यस्ता घटनाले जिल्लामा दमकल तथा विपद् व्यवस्थापनका साधनको आवश्यकता थप उजागर गरेका छन् ।
अर्कोतर्फ, स्थानीय तहले खरिद गरेका एम्बुलेन्ससमेत कतै प्रयोगविहीन अवस्थामा थन्किएका छन् भने कतै दुरुपयोग भइरहेको नागरिकको गुनासो छ । तिलागुफा, शुभकालिका र खाँडाचक्र नगरपालिकाका एम्बुलेन्स संरक्षण तथा व्यवस्थापनको अभावमा थला परेको स्थानीयको भनाइ छ । जिल्लाका केही स्थानीय तहले आफ्ना लागि दुईवटा गाडी सञ्चालन गरिरहँदा नागरिकले भने सामान्य बिरामी पर्दासमेत सहज रूपमा एम्बुलेन्स पाउन सकेका छैनन् । सरकारी साना सवारीसाधनसमेत आफन्तका नाममा प्रयोग भइरहेको भन्दै प्रश्न उठ्ने गरेका छन् ।
बिरामी एम्बुलेन्स नदिएको आरोप लगाउदै जनप्रतिनिधिका आफन्त एम्बुलेन्समा बोकेको भिडियो सार्वजनिक भएको छ ।
सरकारी एम्बुलेन्सको प्रयोगलाई लिएर नरहरिनाथ गाउँपालिकामा थप विवाद देखिएको छ । गाउँपालिकाको एम्बुलेन्समा जनप्रतिनिधिका आफन्तलाई यात्रुका रूपमा ओसारपसार गरिएको भन्दै स्थानीय युवाहरूले भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
गत २१ गते शनिबार नरहरिनाथ गाउँपालिकाको एम्बुलेन्स सदरमुकाम मान्मबाट यात्रु बोकेर गाउँपालिकातर्फ गएको भन्दै युवाहरूले विरोध जनाएका हुन् । उनीहरूको आरोपअनुसार बिरामी तथा मृतकको शव ओसारपसार गर्न नदिएको तर एम्बुलेन्समा यात्रु बोक्ने गरिएको गुनासो गरेका छन ।
यसैबीच, नरहरिनाथ गाउँपालिका–९ लालुका मानबहादुर रावलको अघिल्लो महिना नेपालगन्जमा निधन भएपछि शव अन्तिम संस्कारका लागि पुर्ख्यौली गाउँ लालु ल्याउनुपर्ने अवस्था आएको थियो । आफन्तले शववाहनमार्फत शव ल्याउने प्रयास गरे पनि नरहरिनाथको खुलालुदेखि लालु जाने सडकमा शववाहन जान नसकेको भन्दै नेपालगन्ज नै फर्किएको बताइएको छ ।
त्यसपछि मृतकका आफन्तले करिब तीन घण्टासम्म खुलालु स्थित सडकमा शव राखेर एम्बुलेन्सको खोजी गरेका थिए । तर एम्बुलेन्ससमेत उपलब्ध नभएपछि अन्ततः मृतकको शव ट्याक्टरमा राखेर लालु पुर्याउनुपरेको थियो ।
मृतक रावलका भानिज नाता पर्ने स्थानीय ओमप्रकाश भण्डारीका अनुसार शव ट्याक्टरमा राखेर गाउँ पुर्याउनुपर्ने बाध्यता हुँदासमेत एम्बुलेन्स उपलब्ध भएन । तर अहिले त्यही एम्बुलेन्समा जनप्रतिनिधिका आफन्तलाई यात्रुका रूपमा ओसारपसार गरिएको भिडियो सार्वजनिक भएपछि स्थानीय युवाहरूले विरोध गरेका हुन् ।
भण्डारीका अनुसार एम्बुलेन्स यात्रु बोकेर गाउँतर्फ जाँदै गरेको अवस्थामा खुलालुमा युवाहरूले रोकेर विरोध जनाएका थिए । एम्बुलेन्स चालकले समेत यात्रु जनप्रतिनिधिका आफन्त रहेको बताएको स्थानीयको भनाइ छ ।
एम्बुलेन्सको प्रयोगमा प्रहरीबाट समेत प्रभावकारी चेकजाँच तथा निगरानी नभएको र जथाभाबी प्रयोग हुँदा पनि सम्बन्धित निकायले सुनुवाइ नगरेको स्थानीयको गुनासो छ ।
नियमन गर्ने निकाय मौन, नागरिकको प्रश्न : सरकारी साधन कसका लागि ?
कालीकोटका स्थानीय तहमा सरकारी सवारीसाधनको व्यवस्थापन, संरक्षण र प्रयोगबारे लामो समयदेखि प्रश्न उठ्दै आएका छन् । नागरिकले एम्बुलेन्स खोज्दा नपाउने, शववाहन नपाएर शव ट्याक्टरमा बोक्नुपर्ने र आगलागी हुँदा दमकल नपाएर घण्टौँसम्म सम्पत्ति जलेर नष्ट हुने अवस्था छ ।तर अर्कोतर्फ सार्वजनिक प्रयोजनका लागि खरिद गरिएका सवारीसाधन व्यक्तिगत तथा आफन्तको सुविधामा प्रयोग भइरहेको आरोप लाग्ने गरेको छ ।
सरकारी सवारीसाधन सार्वजनिक सम्पत्ति हुन् । तिनको प्रयोग निश्चित मापदण्ड, जिम्मेवारी र सेवामुखी उद्देश्यअनुसार हुनुपर्ने हो । विशेषगरी एम्बुलेन्स बिरामी तथा स्वास्थ्य आपत्कालीन अवस्थाका लागि र शववाहन मृतकको शव सुरक्षित रूपमा ओसारपसार गर्न प्रयोग हुनुपर्ने साधन हुन् ।
यस्ता साधनको दुरुपयोग भएमा सम्बन्धित स्थानीय तह, चालक तथा नियमन गर्ने निकायले जवाफदेहिता लिनुपर्ने नागरिकको माग छ ।
कालीकोटका स्थानीय तह, जिल्ला प्रशासन, प्रहरी र सम्बन्धित नियमनकारी निकायले एम्बुलेन्स तथा अन्य सरकारी सवारीसाधनको अवस्था, सञ्चालन र प्रयोगबारे अनुगमन गरी नागरिकलाई सहज सेवा उपलब्ध गराउनुपर्ने उनिहरूको माग छ ।
कालिकोटमा स्थानियतहले दुबै कार्यकालमा कति सवारि खरिद गरे तिनको सदुउपयोग छकि दुरूपयोग भन्नेकुरा एकिन तथ्याङक नै नरहेको देखिन्छ ।










