रत्न कार्की कालिकोट/ कुनै समय अत्यन्त महत्वपूर्ण मानिएको हुलाक सेवा डिजिटल प्रविधिको तीव्र विकाससँगै ओझेलमा परेको थियो। टेलिफोन, इमेल, इन्टरनेट र सामाजिक सञ्जालको विस्तारले सूचना आदान प्रदानलाई क्षणभरमै सम्भव बनायो, जसले परम्परागत हुलाक सेवाको आवश्यकता घटायो। एक समय सरकारी, गैरसरकारी तथा निजी कागजात र सन्देश ओसारपसार गर्ने मुख्य माध्यम बनेको हुलाक सेवा विस्तारै निष्क्रियजस्तै बन्दै गएको थियो।सरकारले यसलाई बदलियको परिस्थितिसंग सेवाको रूपान्त्रण र परिमार्जन गर्न सकेन ।
तर अहिले भने सोही हुलाक सेवा नयाँ स्वरूपमा पुनर्जीवित हुने संकेत देखिएको छ। नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिने गरी सेवा परिमार्जन गर्नुपर्ने आवश्यकता लामो समयदेखि उठ्दै आए पनि प्रभावकारी कदम चालिएको थिएन। कहिले प्रशासनमा गाभ्ने, कहिले कार्यालय घटाउनेजस्ता नीतिले हुलाक सेवाको प्रभावकारिता झन् कमजोर बन्दै गएको थियो।
पहिले गाउँ,गाउँ डुल्दै पिठ्युमा रातो झोला बोकेर खबर पुर्याउने हुलाकीहरू गाउँका चिनिएका र भरपर्दा व्यक्तिका रूपमा परिचित थिए। शारीरिक रूपमा सक्षम र सामान्य लेखपढ जान्ने व्यक्तिहरू यस सेवामा संलग्न हुन्थे। तर समयसँगै उनीहरूको भूमिका परिमार्जन नहुदा हाजिर लगाउदै घाम ताप्दै र पेसा ब्यवारिसे बन्दै गयो।
यही सन्दर्भमा कर्णाली प्रदेशको कालिकोट जिल्लामा भने हुलाक सेवाले नयाँ जीवन पाएको छ। जिल्ला प्रशासन कार्यालय कालिकोटमा प्रमुख जिलला अधिकारी गोकर्णराज सुयलको पहलमा दुवै कार्यालयका कर्मचारी र जिल्ला हुलाक कार्यालय कालिकोटका कर्मचारी बिच २०८३ वैशाख ४ गते भएको संयुक्त बैठकले सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने निर्णय गर्यो। सोही निर्णयअनुसार २०८३ वैशाख ५ गतेदेखि राहदानी (पासपोर्ट) सेवा हुलाकमार्फत वितरण गर्न थालिएको छ।
अब सेवाग्राहीले राहदानी पाउन सदरमुकाम धाउनुपर्ने झन्झटबाट मुक्ति पाएका छन्। पहिले राहदानी तयार भए/नभएको जानकारी लिन र बुझ्न पटक–पटक जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो। यसले समय र खर्च दुवै बढाउँथ्यो। र दुख हुन्थ्यो । अब देखि राहादानि हुलाकी मार्फत घरमै पुग्ने भएको छ ।
नरहरिनाथ गाउँपालिकाका स्थानीय गणेश बिष्ट यस सेवाबाट निकै उत्साहित छन्। उनकी छोरीको राहदानी घरमै प्राप्त भएपछि उनले खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन् । अब नेपालमा बिस्तारै जनमुखी सेवा विस्तार हुँने उनको अपेक्षा छ ।
उनका अनुसार, एक वर्षअघि राहदानी फाराम भर्दा सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने भनिएको थियो। छोरी काठमाडौंमा भएकाले आउन, जानमै करिब १५ हजार खर्च र एक हप्ता समय लाग्थ्यो। अहिले भने हुलाकमार्फत घरमै राहदानी आइपुगेको छ, जसले सबै खर्च र समय बचत गर्यो।
उनले हुलाक कार्यालय कुमालगाउँका हल्कारा दानबहादुर बिष्टप्रति आभार व्यक्त गर्दै दुर्गम क्षेत्रका नागरिकका लागि यो सेवा अत्यन्त उपयोगी भएको बताए।
हुलाक सेवालाई सरकारी कुरियर सेवा का रूपमा रूपान्तरण गर्ने प्रयासले दुर्गम क्षेत्रका नागरिकलाई ठूलो राहत मिल्ने देखिएको छ। यदि यस्ता सेवा निरन्तर र प्रभावकारी रूपमा विस्तार गरिए, राज्यका सेवाहरू नागरिकको घरदैलोमै सहज रूपमा पुग्ने विश्वास गर्न सकिन्छ।










