रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालीकोटमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, प्रतिष्ठानको संख्या ३८ प्रतिशतले वृद्धि

       कालीकोट, असार २१। नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयले “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने नारासहित सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत कालीकोट जिल्लामा तथ्याङ्क संकलन कार्य सम्पन्न भएको छ।

देशभर ८४ स्थानमा कार्यालय स्थापना गरी सुरु गरिएको आर्थिक गणना अन्तर्गत कालीकोटमा जिल्ला आर्थिक गणना कार्यालयमार्फत चैत ११ गतेदेखि गणना कार्य सञ्चालन गरिएको थियो। गणना कार्यका लागि गणक र सुपरिवेक्षकलाई परिचालन गरी जिल्लाका नौवटै स्थानीय तहका बजार तथा व्यवसाय सञ्चालन भइरहेका प्रतिष्ठानमा पुगेर आवश्यक विवरण संकलन गरिएको थियो।

तथ्याङ्क संकलनका लागि दुई विधि अपनाइएको थियो। पहिलो विधिअनुसार गणक तथा सुपरिवेक्षकले व्यवसायीसमक्ष पुगेर कागजी प्रश्नावलीमार्फत विवरण संकलन गरेका थिए। दोस्रो विधिअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयले उपलब्ध गराएको युजरनेम र पासवर्ड प्रयोग गरी E-Census प्रणालीमार्फत व्यवसायी स्वयंले अनलाइनबाट आफ्नो आर्थिक तथा अन्य विवरण भर्ने व्यवस्था गरिएको थियो।

जिल्ला आर्थिक गणना कार्यालयका अनुसार वैशाख २ गतेदेखि असार ७ गतेसम्मको अवधिमा संकलित तथ्याङ्कअनुसार कालीकोट जिल्लामा हाल ४ हजार ९ सय ९१ वटा प्रतिष्ठान तथा व्यवसाय सञ्चालनमा रहेका छन्। तीमध्ये ४ हजार ९ सय ६४ वटा प्रतिष्ठानबाट कागजी प्रश्नावलीमार्फत तथा २७ वटा प्रतिष्ठानबाट  र डिजिटल प्रणालीमार्फत विवरण प्राप्त भएको छ।

यसअघि २०७५ सालको पहिलो आर्थिक गणनामा जिल्लामा ३ हजार ६ सय ३५ वटा प्रतिष्ठान दर्ता भएका थिए। हालको आर्थिक गणना २०८२ अनुसार प्रतिष्ठानको संख्या करिब ३८ प्रतिशतले वृद्धि भएको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ।

तथ्याङ्क संकलन कार्य सम्पन्न भएपछि गणना कार्यमा खटिएका गणक तथा सुपरिवेक्षकलाई असार ११ गते औपचारिक रूपमा बिदाइ गरिएको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !