कालिकोटको पलाता गाउपालीका वडा नं ६ सैनमा बलात्कार आरोपमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरी माथि गाउँलेले आक्रमण गरेका छन्।
बलात्कार आरोपी पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न गएको प्रहरीमाथि गाउँलेले आक्रमण गरी अभियुक्त भगाएको प्रहरीले बताएको छ ।
सोमबार बिहान साढे ६ बजेतिर बुढालाई प्रहरीले नियन्त्रणमा लिएर हत्कडी लगाई जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरी र पीडित महिलाका परिवारमाथि समेत आक्रमण गरेको खबर छ । आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी ढुंगेल रावत र अर्का स्थानिय धनमान विक घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिनु भयो ।
घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइते विकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। घाइते दुबैलाई हेलिकोप्टरमार्फत उद्धारको तयारी भइरहेको छ। घाइतेहरुको उद्धारका लागि गृह मन्त्रालयमा हेलिकोप्टर पठाइदिन पत्राचार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिनु भयो ।
बलात्कार आरोपीत अभियुक्त बुढा हत्कडीसहित फरार भएका छन्। उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली पलाँता खटाइएको निमित्त प्रहरी प्रमुख बमले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेका थिए। पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थिय । त्यसयता फरार रहेका बुढा घरमा आएको जानकारी पाएपछि सोमबार बिहान ४ बजे उनलाई पक्राउ गर्न ढुंगेलसहित चार जना प्रहरी टोली सैन पुगेको थियो। प्रहरी पुग्दा घरमै सुतिरहेका बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्लातर्फ ल्याउने क्रममा गाउँलेले आक्रमण गरि भगाएको प्रहरिले बताएको छ ।
प्रहरीमाथी आक्रमण गर्नेको पनि पहिचाहान भेरहेकाले उनिहरूलाइ पनि प्रकाउ गरि अनुसन्धान अगाडि बढाइने प्रहरीले बताएको छ ।