कालिकोट — कालिकोटको तिलागुफा नगरपालिकाले लामो समयदेखि निरन्तर उठ्दै आएको विद्यालय मर्ज, शिक्षक दरबन्दी मिलान तथा भौतिक पूर्वाधारको असन्तुलनसम्बन्धी चुनौती समाधान गर्न ‘विद्यालय समायोजन अभियान’ औपचारिक रूपमा सुरू गरेको छ। नगरभर पहिलोपटक सुरु गरिएको यो अभियानले गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लक्ष्य लिएको त्यहाका उपमेयर महेन्द्र ब शाहिले बताउनु भयो ।
नगरपालिकाका उप–मेयर महेन्द्र शाहीका अनुसार अभियानअन्तर्गत तिलागुफा–६ मा अवस्थित सत्यदेवी बिद्यालय नैसेरा र ज्वाला आधारभूत विद्यालय खल्लालाई समायोजन गरी ‘सत्यदेवी माध्यमिक विद्यालय—जुविथा’ घोषणा गरिएको हो। विद्यार्थी संख्या अत्यन्त न्यून रहेका विद्यालयलाई नियम र प्रक्रिया अनुसार समायोजन गरिएको उनले बताउनु भयो ।
समायोजन घोषणा तथा विशेष समारोहको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्षले गरेका थिए। नगर प्रमुख शंकर प्रसाद उपाध्याय प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो। उप–मेयर शाहीले विद्यालय मर्ज प्रक्रियामा सहयोग गर्ने वडा नं. ६ का वडा अध्यक्ष तथा जुविथावासी सबैप्रति धन्यवाद व्यक्त गर्दै विद्यालय समायोजनलाई शैक्षिक सुधारका लागि महत्वपूर्ण कदमका कदम भएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख उपाध्यायले रोजगारको उद्देश्य र वडावडामा स्कुल खोल्ने अनियन्त्रित होडबाजीका कारण विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको र शिक्षक व्यवस्थापनसमेत चुनौती बनेको उल्लेख गरे। उनले समायोजन प्रक्रिया अघि बढाएर शिक्षाको गुणस्तर सुधार गर्ने अभियान नगरपालिकाले निरन्तर संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै समायोजन भएका विद्यालयका भौतिक संरचना, मानवस्रोत तथा अन्य आवश्यकताहरू नगरपालिकाले प्राथमिकताका साथ व्यवस्थापन गर्ने बताए।
कार्यक्रममा सत्यदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने स्थानीय अभिभावक तथा समुदायको उल्लेख्य उपस्थिति थियो।
यसअघि रास्कोट नगरपालिकाले विद्यालय तह मिलान गरिसकेको भए पनि जिल्लाभित्र व्यापक रूपमा विद्यालय मर्ज अभियान सुरू गर्ने तिलागुफा पहिलो नगरपालिका बनेको छ। विद्यालय अनुमति लिँदा पर्याप्त विद्यार्थी संख्या देखाइने, पूर्वाधार तथा शिक्षक समुदायकै व्यवस्थापनको सहमति हुने भए पनि पछि आएर राज्यका लागि बोझ बन्दै गएको अवस्थामा समाधान गर्न यो अभियान महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।










