कालिकोट — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव ले भारत सरकारले नेपालभर सञ्चालन गरिरहेका ६८० वटा परियोजनामार्फत हालसम्म करिब १६ सय करोड रुपैयाँ लगानी गरिसकेको बताएका छन्। उनले भारतको विकास सहयोगले नेपाल र भारतका नागरिकबीचको सद्भाव, सहिष्णुता तथा आपसी सम्बन्धलाई अझ सुदृढ बनाएको उल्लेख गरे।
बिहीबार कर्णाली प्रदेशको सान्नीत्रिवेणी गाउँपालिका–४ तिकुवास्थित जनज्योति माध्यमिक विद्यालय को भवन निर्माण शिलान्यास कार्यक्रममा भिडियो सन्देशमार्फत सम्बोधन गर्दै राजदूत श्रीवास्तवले सन् २००३ देखि नेपालमा शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकाससँग सम्बन्धित क्षेत्रमा भारतले निरन्तर लगानी गर्दै आएको बताए।
उनले नेपालमा सञ्चालन भइरहेको यो ७४औँ परियोजना रहेको र भारत सरकारले नेपालभर राजदूतावासमार्फत ६८० परियोजनामा काम गरिरहेको जानकारी दिए। हालसम्म करिब १६ सय करोड रुपैयाँ बराबरको लगानी गरिसकिएको उनको भनाइ थियो।
शिलान्यास कार्यक्रममा सहभागी हुन कालिकोट आउने पूर्वनिर्धारित कार्यक्रम रहे पनि प्रतिकूल मौसमका कारण उपस्थित हुन नसकेको जनाउँदै उनले भिडियो सन्देशमार्फत नै परियोजनाको शुभारम्भ गरेका थिए। कर्णाली प्रदेशमा यो दोस्रो परियोजना भएकाले निर्माण कार्य समयमै सम्पन्न भई स्थानीय नागरिकले छिट्टै सेवा उपयोग गर्न पाउने विश्वास व्यक्त गरे। यसले दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उनको भनाइ थियो।
राजदूत श्रीवास्तवले हुम्लाको चंखेली गाउँपालिका मा निर्माण हुन लागेको नेपाल–भारत मैत्री अस्पताल तथा तिकुवास्थित जनज्योति माध्यमिक विद्यालयको भवन शिलान्यास कार्यक्रममा सहभागी हुने योजना रहे पनि विभिन्न कारणले उपस्थित हुन नसकेको बताए। उनका अनुसार अस्पताल निर्माणका लागि १५ करोड भारतीय रुपैयाँ र विद्यालय भवन निर्माणका लागि १० करोड भारतीय रुपैयाँ लगानी गरिनेछ।
कुल लागतको ९५ प्रतिशत भारत सरकारको अनुदान तथा ५ प्रतिशत स्थानीय सरकारको साझेदारीमा योजना सम्पन्न गरिने उनले जानकारी दिए। कर्णाली प्रदेश भौगोलिक रूपमा विकट भए पनि सन् २०२३ देखि हुम्लासँग भारतीय राजदूतावासको सहकार्य सुरु भएको र अब कालिकोटसँग पनि विकास साझेदारी विस्तार भएको उनले बताए।
भारत सरकारले नेपाल सरकारसँग सहकार्य गर्दै नेपाली जनताको दुःखलाई खुसीमा बदल्ने उद्देश्यका साथ विकास सहयोगलाई निरन्तरता दिएको पनि राजदूत श्रीवास्तवले उल्लेख गरे।
सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै राजदूत श्रीवास्तवले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न तथा नागरिकले समयमै सेवा उपयोग गर्न पाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा गाउँपालिकाको तर्फबाट राजदूत श्रीवास्तवलाई मायाको चिनो प्रदान गरिएको थियो। साथै परियोजना ल्याउन भारतीय राजदूतावाससँग समन्वय तथा सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सान्नीत्रिवेणी गाउँपालिकाका ४ का पूर्व अध्यक्ष अनिपाल धामीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक दिलबहादुर बोहोराले दुर्गम तथा पहुँचबाट टाढा रहेका समुदायको विकासमा भारतीय राजदूतावासको सहयोग महत्वपूर्ण रहेको भन्दै भारत सरकार र भारतीय राजदूतावासप्रति आभार व्यक्त गरे।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बुढाले भारतीय राजदूतावासको सहयोग सहज रूपमा प्राप्त नभएको उल्लेख गर्दै परियोजना भित्र्याउन गाउँपालिकाले निरन्तर पहल र लागत साझेदारीमा उल्लेखनीय योगदान गरेको बताए।
कार्यक्रममा गाउँपालिका प्रवक्ता रंगलाल देवकोटा, पूर्व गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ध्वजबहादुर शाही, उपाध्यक्ष पार्वती सिंह सञ्ज्याल तथा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले विकास साझेदारीबाट प्राप्त लगानीको संरक्षण, पारदर्शी उपयोग र प्रभावकारी कार्यान्वयन गर्न सके दातृ निकायसँगको सम्बन्ध अझ दीर्घकालीन र मजबुत बन्ने धारणा व्यक्त गरेका थिए।










