सुर्खेत / सुत्केरी हुने क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएकी कालिकोटकी भावना विष्टको मृत्यु प्रकरण अदालत पुगेको छ । प्रदेश अस्पताल र चिकित्सकविरुद्ध क्षतिपूर्तिको मागसहित भावनाका श्रीमान राजकुमार बिष्टले सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन ।
। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सुत्केरी हुने क्रममा ज्यान गुमाएकी कालिकोटकी भावना विष्टको मृत्यु प्रकरणले कानुनी रूप लिएको छ। मृतक विष्टका श्रीमान् राजकुमार विष्टले उपचारमा लापरबाही भएको आरोप लगाउँदै जिल्ला अदालत सुर्खेत र नेपाल मेडिकल काउन्सिलमा उजुरी तथा मुद्दा दर्ता गराएका छन्।
वीरेन्द्रनगर नगरपालिकामा इन्जिनियर पदमा कार्यरत राजकुमार विष्टले अधिवक्ता शेरबहादुर खत्रीमार्फत अस्पताल तथा उपचारमा संलग्न चिकित्सकविरुद्ध क्षतिपूर्ति माग गर्दै जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर गरेका हुन्। साथै, चिकित्सकीय लापरबाहीबारे छानबिन र आवश्यक कारबाहीको माग गर्दै नेपाल मेडिकल काउन्सिलमा समेत निवेदन दिएको उनले बताएका छन्।
जिल्ला अदालत सुर्खेतमा दर्ता गरिएको फिरादपत्रमा वीरेन्द्रनगर नगर अस्पताल, कर्णाली प्रदेश अस्पताल तथा उपचारमा संलग्न चिकित्सक र अस्पतालका जिम्मेवार अधिकारीसहित छ जनालाई विपक्षी बनाइएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ लगायतका कानुनी व्यवस्थालाई आधार बनाउँदै क्षतिपूर्ति भराइपाउन माग गरिएको छ।
फिरादपत्रमा उल्लेख भएअनुसार राजकुमारकी २६ वर्षीया पत्नी भावना विष्ट २०८२ चैत ३० गते बिहान करिब ९:३० बजे नियमित स्वास्थ्य परीक्षणका लागि वीरेन्द्रनगर नगर अस्पताल पुगेकी थिइन्। परीक्षणका क्रममा उच्च रक्तचाप देखिएपछि चिकित्सकले औषधि चलाएका थिए। तर, दिनभर अस्पतालमा राखेर उपचार गरेपछि अवस्था सामान्य रहेको भन्दै घर पठाइएको दाबी फिरादपत्रमा गरिएको छ।
घर फर्किने क्रममा एरिचोक नजिकै पुगेपछि पेट दुख्न थालेपछि उनलाई महिला स्वास्थ्य क्लिनिक लगिएको र त्यहाँबाट प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको उल्लेख छ। सोही दिन साँझ करिब ६ बजे प्रदेश अस्पताल पुर्याइएकी भावनालाई परीक्षणपछि उच्च रक्तचापको समस्या देखिएको भन्दै शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने बताइएको फिरादपत्रमा उल्लेख छ।
प्रसूति शल्यक्रियापछि बच्चा जन्मिए पनि भावनाको स्वास्थ्यमा सुधार भईसकेको देखिएको थियो। उनलाई दोस्रो चोटी सल्यक्रिया गरिएको बिषय प्रदेश सरकारको छानबिन समितिको प्रतिवेदनमा पनि अनुउत्तरित छ । आईसीयूमा राखेर उपचार गरिएको भन्दै दोस्रो चोटि सल्यक्रिया गरेको बिषय तत्कालिन केही सार्वजनिक मिडियामा त्यहाका चिकित्सकले स्वीकार गरे पनि अप्रेसन पुर्व भावनाका परिवारलाई ड्रेसिङ गर्ने मात्र भनिएको परिवारको दाबि छ ।
भावनाको दोस्रो अप्रेसन पछी अवस्था सुधार नभएपछि हेलिकप्टरमार्फत काठमाडौं लगेर थप उपचार गरिएको थियो। तर, उपचारकै लागी काठकाण्डौ पुर्याउने क्रममा उनको मृत्यु भएको थियो।
भावनाको मृत्युपछि उनका श्रीमान् राजकुमारले उपचार प्रक्रियामा गम्भीर लापरबाही भएको आशंका गर्दै न्यायका लागि कानुनी बाटो रोजेका हुन्। फिरादपत्रमा उपचारका क्रममा अपनाइएको प्रक्रिया, शल्यक्रिया तथा त्यसपछिको उपचारबारे विभिन्न प्रश्न उठाइएको छ।
भावनाको मृत्युपछि पाँच वर्षीय छोरा सुप्रिम र तीन महिनाकी छोरी इभाले आमाको माया गुमाएको र त्यसबेला आफु सम्बेदनामा रहेको र आफनो पक्षबाट अगुवाई गर्ने ब्यक्तिले समेत ऊनिहरूले जेजे भने उहि उहि गरेर छानबिन समितिका नाममा घटनालाई साम्यपार्ने काम गरेको उनको भनाई छ । छोराछोरी नाबालक रहेकाले बुवा राजकुमारले संरक्षकका रूपमा आफ्ना दुई सन्तानको हकसमेत समेटेर अदालतमा मुद्दा दायर गरेका छन्।
यस घटनाले कर्णाली प्रदेशको मातृस्वास्थ्य सेवा, प्रसूति उपचारको गुणस्तर, चिकित्सकीय जवाफदेहिता र अस्पतालको जिम्मेवारीमाथि पुनः गम्भीर प्रश्न उठाएको छ।
गर्भवती भावना विष्ट नियमित स्वास्थ्य परीक्षणका लागि वीरेन्द्रनगर नगर अस्पताल पुगेकी थिइन्। परीक्षणका क्रममा उच्च रक्तचाप देखिएपछि अस्पतालमा कार्यरत चिकित्सक डा. कमल धितालले औषधि किन्न लगाएको र औषधि सेवन गराएपछि साँझ ४ बजेसम्म अस्पतालमै राखिएको थियो।
फिरादपत्रमा दाबी गरिएअनुसार उच्च रक्तचापको समस्या हुँदाहुँदै पनि आवश्यक निगरानी, भर्ना वा अन्य अस्पतालमा रिफर नगरी अवस्था सामान्य रहेको भन्दै घर पठाइएको थियो। घर फर्किने क्रममा एरिचोक नजिक पुगेपछि पेट दुखेपछि उनलाई महिला स्वास्थ्य क्लिनिक लगिएको र त्यहाँ कार्यरत डा. ललितजंग शाहीले प्रदेश अस्पताल सुर्खेतमा रिफर गरेका थिए।
सोही दिन साँझ करिब ६ बजे प्रदेश अस्पताल पुर्याइएकी भावनालाई प्रसूति वार्डमा भर्ना गरी परीक्षण गर्दा उच्च रक्तचाप देखिएको भन्दै शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने चिकित्सकले बताएका थिए। त्यसको करिब दुई घण्टापछि स्त्रीरोग विशेषज्ञ डा. धर्मराज रेग्मीले शल्यक्रिया गरी छोरी इभा विष्टको जन्म गराएका थिए।तर जे नहुनु थियो उहि भयो श्रिमान राजकुमारको चिकित्सकसंग गुहार थियो यदी आमा र बच्चा दुबै जोगाउन नसकिने भए आमा जोगाई दिनु भन्ने माग थियो तर जन्म भएकी छोरी जिबित रहिन आमा साथमा रहिनन नावालक छोरिले आज थप पिडा भईरहेको छ ।
शल्यक्रियापछि आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी अस्पतालका कर्मचारीले दिएको राजकुमारको भनाइ छ। चिकित्सकको सल्लाहअनुसार भावनालाई पोस्टअप वार्डमा राखिएको थियो। तर, शल्यक्रियापछि सम्बन्धित चिकित्सक नियमित रूपमा बिरामीको अवस्थाबारे जानकारी लिन नआएको र पटक–पटक सोध्दा पनि नर्सहरूले आमा र बच्चाको अवस्था सामान्य रहेको जवाफ दिएको फिरादपत्रमा उल्लेख छ।
दोस्रो पटक शल्यक्रिया, आफन्तको सहमतिबिनै लगिएको दाबी
फिरादपत्रअनुसार २०८३ वैशाख २ गते बिहान करिब ११ बजे भावनाको अवस्था सामान्य रहेको र वार्डमा सार्न सकिने जानकारी श्रीमान् राजकुमारलाई दिइएको थियो। त्यसपछि उनले क्याबिन बुक गरी बिरामीको हेरचाहका लागि बहिनी विमला विष्टलाई राखेर आवश्यक कपडा लिन घर गएको बताएका छन्।
त्यही क्रममा चिकित्सक डा. अमित सिंहले भावनाको परीक्षण गर्दा अवस्था असामान्य देखिएको र शल्यक्रिया गरिएको बाहिरी भागमा रगत जमेको भन्दै पोस्टअप वार्डका नर्स तथा कर्मचारीलाई सरसफाइ गर्न निर्देशन दिएको फिरादपत्रमा उल्लेख छ।
चिकित्सकले बिरामीका श्रीमान्लाई बोलाउन भनेपछि बहिनी विमला बच्चालाई लिएर राजकुमारलाई बोलाउन बाहिर आएको अवस्थामा उनको सहमति तथा मन्जुरीबिना नै भावनालाई पुनः शल्यक्रिया कक्षमा लगिएको राजकुमारको आरोप छ।
शल्यक्रिया कक्षबाहिर पुगेपछि डा. अमित सिंहले शल्यक्रिया गरिएको ठाउँको बाहिरी भागमा रगत जमेकाले सफाइ गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको फिरादपत्रमा उल्लेख छ।
तर, त्यसपछि पनि भावनाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको रहे छ । सोही दिन राति करिब १० बजे चिकित्सकले आईसीयूमा राख्न सल्लाह दिएपछि उनलाई आईसीयूमा सारेर उपचार सुरु गरिएको थियो।
आईसीयूमा समेत समयमै विशेषज्ञ चिकित्सक नआएको आरोप
राजकुमारले फिरादपत्रमा २०८३ वैशाख ३ गते बिहानको घटनालाई थप गम्भीर रूपमा उठाएका छन्। उनका अनुसार बिहान करिब ७:१५ बजे आईसीयूमा रहेका बेला पत्नी भावना अचेत अवस्थामा देखिएपछि तत्काल थप उपचारका लागि चिकित्सक र नर्सलाई आग्रह गरेका थिए।
तर, आईसीयूमा कार्यरत चिकित्सक तथा नर्सले विशेषज्ञ चिकित्सकको टोली बिहान ९ बजे आउने जानकारी दिएको उनको दाबी छ। बिहान ९ बजेसम्म पनि विशेषज्ञ चिकित्सक डा. धर्मराज रेग्मी र डा. अमित सिंहसहितको टोली नआएको तथा पटक–पटक अनुरोध गर्दा पनि तत्काल उपचारमा चासो नदेखाएको आरोप भावनाका श्रीमान राजकुमारको छ।
बिरामीको अवस्था गम्भीर भइसकेको भन्दै पटक–पटक चिकित्सक बोलाउन आग्रह गर्दा पनि सुनुवाइ नभएको र बिहान करिब १०:३० बजेसम्म विशेषज्ञ चिकित्सक नआएको राजकुमारको दाबी छ।
त्यसपछि बिहान करिब ११ बजे राउन्डमा आएको चिकित्सकको टोलीले बिरामीको अवस्था जटिल रहेको भन्दै तत्काल भेन्टिलेटरमा राखेको फिरादपत्रमा उल्लेख गरिएको छ।
उक्त घटनाक्रमलाई आधार बनाउँदै राजकुमारले उपचारका विभिन्न चरणमा चिकित्सकीय निगरानी, समयमै विशेषज्ञ चिकित्सकको उपस्थिति, दोस्रो शल्यक्रियाको आवश्यकता तथा आईसीयूमा गरिएको उपचार प्रक्रियामाथि प्रश्न उठाएका छन्।
भावना विष्ट मृत्यु प्रकरणमा गठित छानबिन समितिले चिकित्सकीय लापरबाहीबारे निर्णय दिन नसकेको आरोप
व्यवस्थापकीय सुधारमा मात्रै सुझाव
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सुत्केरी हुने क्रममा मृत्यु भएकी कालिकोटकी भावना विष्टको घटनाबारे छानबिन गर्न गठित छानबिन समितिले चिकित्सकीय लापरबाही वा त्रुटि भएको विषयमा निष्कर्ष दिन नसकेको पाइएको छ। समितिले चिकित्सकीय लापरबाहीको विषय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै थप छानबिनका लागि सम्बन्धित निकायलाई जिम्मेवारी दिनुपर्ने सुझाव दिएको छ।
समितिको प्रतिवेदनको निष्कर्ष तथा सुझाव खण्डको १०.१ मा उपचारमा लापरबाही वा त्रुटिसम्बन्धी विषय उल्लेख गरिएको छ। नेपाल मेडिकल काउन्सिल ऐनको दफा ७(क) को उपदफा (१) को खण्ड (ड) अनुसार चिकित्सकहरूको आचारसंहिता तयार गर्ने र उल्लङ्घन गर्ने चिकित्सकमाथि कारबाही गर्ने अधिकार नेपाल मेडिकल काउन्सिलमा रहेको भन्दै समितिले यस विषयमा प्रवेश गर्न नसकेको जनाएको छ।
प्रतिवेदनमा चिकित्सकीय लापरबाही तथा त्रुटि भएको विषयमा सम्बन्धित निकायबाट थप छानबिन गर्नु उपयुक्त हुने उल्लेख छ ।
दोस्रो पटक सल्यक्रिया गर्ने चिकित्सकीय लाप्रबाहीको अनुत्तरित सुझाव सहित व्यवस्थापकीय सुधारमा मात्र जोड दिने समिति पनि प्रति अविस्वास ब्यक्त गर्दै पुन न्यायिक छानबिनकोमाग गरेका छन ।
समितिले उपचारमा लापरबाही भए ,नभएको विषयमा ठोस निष्कर्ष नदिए पनि अस्पतालको व्यवस्थापकीय सुधारका लागि दुईवटा सुझाव दिएको छ।
पहिलो सुझावमा प्रदेश अस्पतालले आधारभूतदेखि विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गरिरहेको र सेवाग्राहीको अत्यधिक चाप हुने अस्पताल भएकाले जनशक्ति व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने उल्लेख छ। कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० को दफा २१ अनुसार मन्त्रालयमा रहेको रिक्त पदमा सेवा करार नियुक्ति गर्न सक्ने अधिकार सम्बन्धित अस्पताललाई प्रत्यायोजन गरी अस्पतालबाटै रिक्त पदमा करार नियुक्ति गर्न सक्ने व्यवस्था मिलाउन समितिले सुझाव दिएको छ।
त्यस्तै, अस्पतालमा उपचाररत बिरामीमा थप जटिलता वा संक्रमण हुन सक्ने भएकाले त्यसको न्यूनीकरणका लागि सेवाग्राहीलाई पर्याप्त परामर्श र सूचना प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने समितिको अर्को सुझाव छ। समितिको बिषय एका तिर सुझाव अर्को तिर दिएको आरोप पिडित पक्षको छ ।
तत्कालिन सामाजिक विकास मन्त्रालयका वृषबहादुर शाहीको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी सदस्य र मन्त्रालयका उपसचिव देवीप्रसाद पौड्याल सदस्य रहेका थिए।
तर, भावना विष्टको उपचारका क्रममा उठेका मुख्य प्रश्नहरू—पहिलो शल्यक्रियापछि देखिएको जटिलता, दोस्रो पटक गरिएको शल्यक्रियाको आवश्यकता, बिरामीको निगरानी तथा आईसीयूमा विशेषज्ञ चिकित्सकको उपस्थितिजस्ता विषयमा समितिले स्पष्ट निष्कर्ष दिएको प्रतिवेदनमा उपलब्ध देखिँदैन।
यसले मृतकका परिवारले उठाएका प्रश्नको जवाफ र उपचार प्रक्रियाको वास्तविकता पत्ता लगाउने विषय अझै बाँकी रहेको देखिन्छ।
छानबिन समितिले चिकित्सकीय लापरबाहीको विषयमा निर्णय दिन नसक्ने भए यस्तो संवेदनशील घटनाको निष्पक्ष छानबिन कसले र कहिले गर्ने भन्ने प्रश्नसमेत उठेको छ। अस्पतालको व्यवस्थापकीय सुधारका सुझाव मात्रै पर्याप्त हुन् कि बिरामीको ज्यान गएको घटनाको चिकित्सकीय पक्षसमेत गहिराइमा छानबिन हुनुपर्छ भन्ने बहस कर्णालीमा थप चर्किने देखिन्छ।प्रदेशको एक मात्र चिकित्सकिय ब्यवस्थापन रहेको प्रदेश अस्पतालप्रति नागरिकको बिस्वास पछिल्लोचरण गुम्दै गएकोदेखिन्छ ।









