कालिकोट । आज २०८२ साल पुस १५ गते राति सारा देश पुस १५ तथा अंग्रेजी नयाँ वर्ष मनाउने तयारीमा व्यस्त रहँदा जिल्ला अस्पताल कालिकोटका स्वास्थ्यकर्मी भने मानवीय कर्तव्यमा खटिएका थिए। मध्यराति कालिकोटको शुभकालिका वडा नं ८ र शान्नित्रिवेणी वडा नं २ की दुई जना गर्भवती महिलालाई प्रेषण (रेफर) गरी अस्पताल ल्याइएपछि अस्पतालको टोलीले आपतकालीन शल्यक्रिया गरेर आमा र नवजात शिशु दुवैको ज्यान जोगाउन सफल भएको अस्पताल प्रमुख डाक्टर रत्नबिर सुनारले रेडियो प्रदेश आवाजलाइ बताए
प्रेषण अर्थात रेफर भएर आएका दुवै गर्भवतीको अवस्था जटिल रहेकाले अस्पताल प्रमुख तथा मेडिकल जनरलिस्ट डा. रत्न वीर सुनारको नेतृत्वमा टोली तत्काल अपरेशन थिएटरमा प्रवेश गरेको थियो। करिब चार घण्टा लामो कठिन शल्यक्रियापछि दुवै आमा र शिशु सुरक्षित रहेको अस्पतालले जनाएको छ। शल्यक्रिया सफल भएपछि खुसी व्यक्त गर्दै डा. सुनारले सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी र सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो।
अस्पताल स्रोतका अनुसार पहिलो १८ वर्षीया सान्नित्रिवेणी गाउँपालिका–२ की महिला पहिलो पटक गर्भवती भएकी थिइन्। उनको पाठेघरको मुख सानो भएकाले सामान्य प्रशुति सम्भव नभएपछि आपतकालीन शल्यक्रिया गरिएको डा. सुनारले जानकारी दिनुभयो। यस्तै दोस्रो २६ वर्षीया शुभकालिका गाउँपालिका–८ की गर्भवती महिलामा पाठेघरमा मासु पलाएर फाइब्राइड देखिएको र त्यसकै कारण पाठेघरको मुख सानो भएकाले शल्यक्रिया गर्नुपरेको अस्पतालले जनाएको छ।
स्वास्थ्यकर्मीहरूले उपचारका क्रममा हरेक पाइलामा जोखिम सामना गर्नुपर्ने अवस्था रहेको डा. सुनारको दुखेसो छ। बिरामी र आफन्त पीडामा अस्पताल आउँछन्, तर उपचारका क्रममा आउने जोखिमहरू सधैं बुझ्दैनन्,उहाँले भन्नुभयो, विगतका तिता घटनाले मनमा डर भए पनि हाम्रो अगाडि विकल्प थिएन, हामी ज्यान जोगाउन अपरेशन थिएटरमा पस्यौं।”
कालिकोट अस्पतालमा आवश्यक ब्लड बैंकको व्यवस्था नभएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै रगत मिल्ने दुई जनालाई तयारी अवस्थामा राखिएको, एम्बुलेन्स स्ट्यान्डबाइमा राखिएको र चिकित्सक, असिस्टेन्ट तथा नर्सहरूको समन्वयमा शल्यक्रिया सफल भएको डा. सुनारले बताउनुभयो।
विगतमा जोखिम लिन डराएर साना केससमेत जुम्ला र सुर्खेत रेफर गर्ने गरिएको भन्दै अस्पताललाई “रेफर सेन्टर”को आरोप लाग्दै आएको थियो। तर डा. रत्न वीर सुनार मेडिकल अधिकृत तथा कार्यालय प्रमुख भएर आएपछि पहिलो पटक एकै रात दुईवटा जटिल केसमा जोखिम उठाएर सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
दुवै शल्यक्रिया मेडिकल जनरलिस्ट डा. रत्न वीर सुनार र डा. प्रकाश पौडेलको नेतृत्वमा सम्पन्न गरिएको हो। नवजात शिशुको जिम्मेवारी डा. आशिष पाण्डे र डा. जीवन पाण्डेले सम्हाल्नुभएको थियो। एनेस्थेसिया असिस्टेन्टको रूपमा आनन्द पनेरुले सेवा दिनुभएको थियो भने स्क्रब नर्सको भूमिकामा ममता नेपाली र मनिषा न्यौपाने (पाण्डे) रहनुभएको थियो। अपरेशन थिएटर सहयोगीका रूपमा चन्दा शाहीले सहयोग गर्नुभएको अस्पतालका सूचना अधिकारी कट्क महतले जानकारी दिनुभयो।
शल्यक्रियाका क्रममा आवश्यक परेमा रक्तदानका लागि तत्पर रहनु भएका डा. विक्की, इमरजेन्सी कक्षबाट सहयोग गर्नु भएका हेमन्त बीके तथा प्रयोगशालामार्फत स्वतःस्फूर्त सेवा प्रदान गर्नु भएका प्रदीप शाहीप्रति अस्पतालले धन्यवाद व्यक्त गरेको छ। साथै समयमै गर्भवती महिलालाई रेफर गर्ने सम्बन्धित स्वास्थ्य संस्थाका सिस्टरहरूप्रति पनि अस्पतालका प्रमुख डाक्टर सुारले आभार प्रकट गर्नु भएको छ।
अस्पतालले सबै स्वास्थ्यकर्मी तथा सहयोगीहरूको समन्वय, तत्परता र साहसका कारण दुवै आमा र नवजात शिशुको अवस्था सामान्य रहेको अस्पतालका नर्सिङ कर्मचारी मनिसा शाहीले जानकारी दिएका छन ।










