टिकाराज उपाध्याय कालिकोट ~रास्कोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै जिल्लास्तरीय वार्षिक समीक्षामा दोस्रो पटक प्रथम स्थान हासिल गरेको छ। आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीमा रास्कोट नगरपालिका प्रथम भएको हो।
स्वास्थ्य सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन तथा स्वास्थ्य सूचकमा गरेको प्रगतिका आधारमा रास्कोटले जिल्लाका अन्य स्थानीय तहलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको जनाइएको छ। यो उपलब्धि रास्कोट नगरपालिकाका लागि स्वास्थ्य क्षेत्रमा निरन्तर गरिएको प्रयास र सुधारको महत्वपूर्ण परिणामका रूपमा लिइएको छ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दै आएको छ। स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनत, स्वास्थ्य संस्थाहरूको प्रतिबद्धता तथा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवाला निकायबीचको सहकार्यले उपलब्धि हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको नगरपालिकाले जनाएको छ।
जिल्लास्तरीय वार्षिक समीक्षामा दोस्रो पटक प्रथम स्थान हासिल हुनु स्वास्थ्य क्षेत्रमा नगरपालिकाले गरेको निरन्तर प्रयासको प्रोत्साहन भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। प्राप्त उपलब्धिलाई आगामी दिनमा स्वास्थ्य सेवा अझ प्रभावकारी, गुणस्तरीय र नागरिकको पहुँचमा पुर्याउन प्रेरणाका रूपमा लिइएको छ।
स्वास्थ्य क्षेत्रमा प्राप्त सफलताका लागि नगरपालिका प्रमुख धर्मराज शाही (पोषण)ले नगरभित्र कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था प्रमुख तथा कर्मचारी, जनप्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालय तथा सहयोगी संघ–संस्थाप्रति बधाई तथा आभार व्यक्त गर्नु भयको छ ।
नगरपालिकाले प्राप्त उपलब्धिलाई केवल पुरस्कार वा सम्मानका रूपमा मात्र नलिई नागरिकलाई गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने थप जिम्मेवारीका रूपमा लिएको उहाले बताउनु भयको छ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनकराज न्यौपानेले स्वास्थ्य क्षेत्रमा हासिल भएको उपलब्धिलाई आगामी दिनमा निरन्तरता दिँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न प्राथमिकताका साथ काम गरिने बताउनुभयो।










