कालिकोट — स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा सञ्चालन तथा सम्पादन भएका स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। असोज ४ र ५ गते दुई दिनसम्म सञ्चालन भएको गोष्ठीको अध्यक्षता स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले गर्नुभएको थियो। जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही, नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, सामाजिक विकास मन्त्रालयका महेश शर्मा, स्वास्थ्य सेवा निर्देशनालयका कविता देवकोटा र मनिषा न्यौपाने, प्रनाउ हेमबहादुर खत्री लगायतको उपस्थिति थियो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हर्षप्रसाद चौलागाईं, आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. तुलसी श्रेष्ठसहित विभिन्न विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गोष्ठीमा कालिकोटका ९ वटै स्थानीय तह, स्वास्थ्य सेवा कार्यालय तथा विकास साझेदार संस्थाहरूले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका स्वास्थ्यसम्बन्धी कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए। प्रस्तुतिमाथि छलफल गर्दै स्वास्थ्य कार्यक्रमको प्रभावकारिता, सेवा प्रवाह र आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा समीक्षा गरिएको थियो। गोष्ठीको दोस्रो दिन विश्व स्वास्थ्य संगठन (WHO) का प्राविधिक अधिकृत प्रदिप अधिकारीको सहजीकरणमा स्थानीय तहबाट सञ्चालित आधारभूत स्वास्थ्य सेवाको पहुँच, प्रभावकारी कार्यान्वयन तथा देखिएका चुनौतीका विषयमा प्यानल डिस्कसनसमेत गरिएको थियो। रास्कोट प्रथम वार्षिक समीक्षा तथा मूल्यांकनका आधारमा रास्कोट नगरपालिका प्रथम, पचालझरना गाउँपालिका द्वितीय र सान्नीत्रिवेणी गाउँपालिका तृतीय भएका छन्। मूल्यांकनमा क्रमशः पलाँता, नरहरिनाथ, खाँडाचक्र, महाबै, तिलागुफा र शुभकालिका गाउँपालिका/नगरपालिका रहेका छन्। प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको थियो। बाँकी ६ स्थानीय तहलाई समेत सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। त्यसैगरी जिल्लामा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्दै आएका विकास साझेदार संघ–संस्थाहरूलाई पनि सम्मानपत्र तथा खादाद्वारा सम्मान गरिएको थियो। गोष्ठीले जिल्लाको स्वास्थ्य क्षेत्रमा भएका प्रगतिको समीक्षा गर्दै स्थानीय तहबीचका असल अभ्यास आदानप्रदान, सेवा प्रवाहमा देखिएका समस्या पहिचान तथा आगामी वर्ष स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने आधार तयार गरेको आयोजकको भनाइ छ।










