कालिकोट । विद्युत उत्पादन कम्पनी लिमिटेडद्वारा प्रस्तावित फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना अन्तर्गत E-Flow ३३ के.भी. विद्युत प्रसारण लाइन आयोजनाको संक्षिप्त वातावरणीय अध्ययन (IEE) सम्बन्धमा सान्नित्रिवेणी गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सान्नित्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर के.सी. ले जग्गा मुआब्जा निर्धारणका क्रममा विगतमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनेको समितिबाट तय भएको मौजात मुल्यमा दश प्रतिशत प्रतिवर्ष थप्नु पर्ने हुदा समस्या उत्पन्न भएको बताए। सर्वोच्च अदालतमा दायर रिटका कारण तीन वर्षदेखि आयोजना प्रभावित बनेको उल्लेख गर्दै, स्थानीय सरकार निरन्तर समस्याको समाधानका लागि पहलमा रहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहमहामन्त्री धन बहादुर बुढा ले नेपालकै सस्तो मूल्यमा जग्गा उपलब्ध गराउँदा पनि आयोजना लथालिङ अवस्थामा पुगेको आरोप लगाए। पाँच वर्षमा सम्पन्न हुने भनिएको आयोजना दस वर्ष बितिसक्दा पनि अपेक्षित प्रगति नभएको भन्दै नागरिकको आवाज सुन्नुपर्नेमा जोड दिए। उनले पालिकाभित्र सञ्चालन हुने आयोजना राष्ट्रिय वा अन्तर्राष्ट्रिय जुनसुकै भए पनि स्थानीय सरकारको सरोकार अनिवार्य हुनेमा त्यसो ुन नसकेको बताए।
वडा नं. ३ का अध्यक्ष रंगराज देवकोटा ले झोला खोलामा बोकेर आराम गर्ने गरेको भन्दै त्यसो नगर्न आग्रह गरे । स्थानीय वातावरण संरक्षण सबैको साझा दायित्व भएको बताए। उनले यही क्षेत्रका केही नेताहरूले सर्वोच्च अदालतमा मुद्दा हालेका कारण आयोजना जटिल बनेको दाबी गरे।
नेपाली कांग्रेसका जिल्ला समिति सदस्य मथुरा प्रसाद जैसी ले विद्युत संरचना निर्माणका लागि दक्ष जनशक्ति पाउन कठिन भइरहेको उल्लेख गर्दै, आगामी चरणमा स्थानीयवासीले प्रत्यक्ष राहत पाउनुपर्ने बताए।
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीहरूले आयोजनाका कारण टनेल खन्दा आसपासका पानीका मुहान सुक्ने, जैविक तथा प्राकृतिक सम्पदामा क्षति पुग्ने जस्ता खतरा हुने हुदा त्यसको कुनै मतलव नराखिएको बताए । स्थानिय पूर्ण गिरी ले टनेल बाहिर पानीका मुहान सुक्ने सम्भावना रहेको बताए भने केस प्रसाद जैसी ले हाईटेन्सन लाइनको पोल राख्ने क्रममा चार सय वर्गमिटर जग्गा लिएर थप हजार मिटर क्षेत्र क्षति पुर्याइएको तर क्षतिपूर्ति नपाएको गुनासो गरे। ठेकेदारले पैसा कमाएर गए पनि स्थानीयले न ज्याला पाए, न क्षतिपूर्ति पाएको उनीहरूको भनाइ थियो।त्यस्तै महिला संगिता जैसी ले आयोजनामा स्थानीयलाई रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखिन्।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष बैकुण्ठराज गिरी को अध्यक्षता रहेको थियो। सान्नित्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर के.सी., वडा अध्यक्षहरू, वडा सदस्यहरू, सामुदायिक वन उपभोक्ता समिति प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, सञ्चारकर्मी रत्न कार्की लगायतको सहभागिता थियो।
आयोजनाको तर्फबाट आयोजना प्रवन्धक डम्बर उप्रेती वरिष्ठ इन्जिनियर डिल्लीराम डागी वातावरण बिज्ञ राजेश सिलवाल ,इन्जिनियर कपिलजंग शाही लगायतले आयोजना, वातावरणीय प्रभाव र न्यूनीकरण उपायबारे जानकारी गराएका थिए।










