टिकाराज उपाध्याय कालिकोट~ अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा युवा गैरसरकारी संस्था महासंघ नेपाल, कालिकोटको आयोजनामा सरसफाइ तथा झाडु हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
युवा गैरसरकारी संस्था महासंघ नेपाल कालिकोट, हातेमालो सहायता फाउन्डेसन र युवा मानव अधिकार रक्षक सञ्जाल कालिकोटको संयुक्त पहलमा खाँडाचक्र नगरपालिका–१ स्थित बालमन्दिर विद्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा विद्यालय परिसर सरसफाइ गर्नुका साथै विद्यालयलाई आवश्यक झाडु हस्तान्तरण गरिएको थियो।
कार्यक्रमले विद्यालयको वातावरण स्वच्छ राख्न तथा सरसफाइप्रति विद्यार्थी र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।
युवा गैरसरकारी संस्था महासंघ नेपाल कालिकोटकी उपाध्यक्ष सीमा शाहीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाहरूको सक्रिय सहभागितामार्फत सामाजिक उत्तरदायित्व र सरसफाइ अभियानलाई जोड दिँदै कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
उहाँले आगामी दिनमा पनि युवाहरूको नेतृत्व र सहभागितामा सामाजिक तथा सामुदायिक हितका विभिन्न कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।










