चैत्र २४ ,कालिकोट। राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय कालिकोटको पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरेका छन् । गत १७ चैतको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्षमा चित्र सिंह (गाउँ ले)लाई नियुक्त गरेपछि बिहीबार कार्यालय स्थापना गरिएको हो ।
जिल्ला समन्वय समितिको कार्यालयमा रहनेगरी राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको हो। कार्यालय स्थापनासँगै राष्ट्रिय भूमि आयोग जिल्ला समितिका नवनियुक्त अध्यक्ष सिंहले पदभार सम्हालेका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति नौ सदस्यीय रहने व्यवस्था छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पुर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
जिल्लाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई आवासका लागि प्रतिपरिवार ३४० वर्गमिटर र कृषिका लागि तीन हजार वर्गमिटर जग्गा व्यवस्था गर्नुपर्ने प्रावधान रहेको राष्ट्रिय भूमी आयोग जिल्ला समितिका सदस्य सचिव जिल्ला नापी कार्यालयका नापी निमित्त कार्यालय प्रमुख रामचन्द्र अधिकारीले बताए ।
अव्यवस्थित बसोबासीलाई आवासका लागि प्रतिपरिवार एक हजार बर्गमिटर र कृषि प्रयोजनका लागि १० हजार बर्गमिटर जग्गा उपलव्ध गराइने समितिले जनाएको छ । भूमीहिन कोही नहुन् भन्ने लक्ष्यकासाथ वार्षिक कार्ययोजना बनाएर भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या हल गरिने समितिका नवनियुक्त अध्यक्ष सिंहले बताए ।
कार्यक्रमलाई सफल बनाउन दल, स्थानीय तहका जनप्रतिनिधि लगायतलाई सहभागी गराएर अभिमुखीकरण कार्यक्रम सञ्चालनका लागि पहल गरिने अध्यक्ष सिंहले बताए । कार्यक्रममा पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम(पलातिकान्छा),नेकपा माओवादी केन्द्र कालिकोट जिल्ला संयोजक लक्ष्मीप्रसाद चौलागाईं (शैलेन्द्र ) प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा लगाए सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।