कालिकोट । केही वर्षअघि लोपोन्मुख अवस्थामा रहेको जङ्गली जनावर बाघ पछिल्लो समय कालिकोट जिल्लाका विभिन्न गाउँबस्तीमा देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। बाघ बस्तीमा पसेर पशुचौपाया मार्न थालेपछि ग्रामीण क्षेत्रमा आतङ्क फैलिएको हो।
केही दिनअघि रास्कोट नगरपालिकाको बस्तीमा देखिएको बाघ पछिल्लो पटक पचालझरना गाउँपालिकाको पडेक्षा आसपासका क्षेत्रमा देखिन थालेको छ। गएराति पचालझरना गाउँपालिका ८ निवासी पूर्ण बहादुर शाहीको बाख्रा खोरमा बाघ पसेर पाँच वटा बाख्रा मारेको स्थानीय टक्क बमले जानकारी दिनुभयो।

पचालझरना गाउँपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश कठायतका अनुसार पछिल्ला हप्ताहरूमा पडेक्षा र आसपासका बस्तीहरूमा बाघले पटक,पटक बाख्रा मार्ने गरेको छ। उहाँले केही दिनअघि ऐन बहादुर खड्काको एक र आफ्नै दुई वटा बाख्रा बाघले मारेको बताउनुभयो। गएराति भने वडा नं. ८ को भिटामा बाघ घरको छाना भएको बाख्रिखोरको छानाबाट भित्र पसेर पाँच वटा बाख्रा मारेको उहाँको भनाइ छ।
यसअघि अघिल्लो महिना रास्कोट नगरपालिका ६ को काब्रामा भालु देखिएको थियो। उक्त भालु मृत अवस्थामा फेला परेपछि डिभिजन वन कार्यालयले सदरमुकाम ल्याएर व्यवस्थापन गरेको जनाएको छ।
बाघ तथा अन्य जङ्गली जनावर बस्ती नजिक देखिन थालेपछि स्थानीयवासीको जनधनको सुरक्षामा जोखिम बढेको भन्दै नियन्त्रणका उपाय अपनाउनुपर्ने माग स्थानीयले गरेका छन्।
यता निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले जङ्गली जनावरको आक्रमणबाट किसानका पशुचौपाया मरेको खण्डमा स्थानीय प्रहरीको मुचुल्का र सर्जमिनका आधारमा राज्यले क्षतिपूर्ति दिने व्यवस्था रहेको बताउनुभएको छ। उहाँले पीडित किसानलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गर्नुभयो।
पशु सेवा कार्यालय कालिकोटका प्रमुख धन बहादुर महतका अनुसार वडा तथा पालिकाको सिफारिस, घटनास्थलको फोटो र प्रहरी मुचुल्का पेश गरेपछि न्यूनतम दुई हजारदेखि २० हजार रुपैयाँसम्म राहत उपलब्ध गराइने व्यवस्था छ। उहाँका अनुसार चालु आर्थिक वर्षका लागि कार्यालयले दुई लाख रुपैयाँसम्मको बजेट प्राप्त गरेको छ।
प्राकृतिक विपद् जस्तै चट्याङ, आगलागी, हिमपहिरो, बाढी तथा पहिरोका कारण मरेका गाई, गोरु, भेडा, बाख्रालगायत घरपालुवा पशुचौपायाका लागि राहत प्रदान गरिने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो। सो अनुसार भेडा तथा बाख्राका लागि दुई हजार रुपैयाँदेखि गाई–गोरुका लागि पाँच हजार र भैंसीका लागि अधिकतम २० हजार रुपैयाँसम्म राहत दिने गरिएको छ।
महतका अनुसार यसअघि कार्यविधिमा जङ्गली जनावर वा विषालु झारपातको सेवनबाट मरेका पशुचौपायाको क्षतिमा राहतको स्पष्ट व्यवस्था नभए पनि टिप्पणी उठाएर नियमअनुसार राहत वितरण गर्दै आएको बताउनुभयो।
यसैबीच जिल्ला वन कार्यालय कालिकोटले पनि जङ्गली जनावरको आक्रमणबाट किसानका पशुचौपाया मरेको अवस्थामा निर्देशनालयमार्फत नियमअनुसार न्यूनतमदेखि अधिकतमसम्म राहत दिने व्यवस्था रहेको जनाएको छ। वन कार्यालय कालिकोटका प्रमुख धर्मराज उपाध्यायका अनुसार घटनास्थलको फोटो, प्रहरी मुचुल्का र वन कार्यालयका प्रतिनिधिको रोहबरमा मुचुल्का तयार गरी वन कार्यालयमा सम्पर्क गर्नुपर्ने बताउनु भयो ।










