कालीकोट — जिल्लामा आज देखि सुरू भएको आर्थिक गणनालाई प्रभावकारी बनाउन सबै स्थानीय तहमा आवश्यक जनशक्ति परिचालन गरिएको छ। जिल्ला आर्थिक गणना कार्यालय कालीकोटका अधिकारी वसन्त रजौरेका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा गणकहरू फिल्डमा पुगिसकेका छन । आज बाट काम सुरू भएको उहाले जानकारी दिनु भयो।
उनका अनुसार खाँडाचक्र नगरपालिकामा ४ जना गणक परिचालन गरिएको छ भने तिलागुफा र रास्कोट नगरपालिकामा दुई–दुई जना खटिएका छन्। यसैगरी शुभकालिका, नरहरिनाथ, पचालझरना र पलाँता गाउँपालिकामा पनि दुई–दुई जना गणक परिचालन गरिएको छ। महावै र सान्नीत्रिवेणी गाउँपालिकामा भने एक–एक जना गणक फिल्डमा खटिएको जानकारी छ।
आर्थिक गणनाका क्रममा जिल्लाभर १८ वटा सूचकका आधारमा विस्तृत तथ्याङ्क संकलन गरिने भएको छ। यसमा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाको सङ्ख्या, लगानी, रोजगारी र उत्पादनसम्बन्धी विवरण समेटिनेछ। साथै, दर्ता भएका वा नभएका साना–ठूला व्यापारिक प्रतिष्ठान, कलकारखाना, गैरसरकारी संस्था, विद्यालय तथा अस्पतालहरूको विवरणसमेत संकलन गरिने बताइएको छ।
कार्यालयले आर्थिक गणनाबाट पालिका तथा वडास्तरमा रहेका आर्थिक गतिविधि, रोजगारीको अवस्था तथा जनशक्ति संलग्नताको यथार्थ चित्र आउने विश्वास लिएको छ। यसले आगामी योजना निर्माण, नीति निर्धारण तथा विकास कार्यक्रम सञ्चालनमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
साथै, सम्बन्धित सबै उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई सही तथ्याङ्क उपलब्ध गराएर गणनालाई सफल बनाउन सहयोग गर्न कार्यालयले आग्रह गरेको छ।










