रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

सुन्दर परिवारको सपना बुनेर कमाउन भारत गएका कालिकोट लालुका जोरासिंह बिष्टको निधन, दुई सन्तान र श्रीमती बिचल्ली

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८, लालु निवासी जोरासिंह बिष्टका दुई नाबालक छोरा–छोरी र उनकी श्रीमती बाबु तथा श्रीमान् फर्कने बाटो हेरेर बसेका थिए। परिवार पाल्न, भत्किन लागेको घरको भित्ता सुधार गर्न र छोराछोरीको भविष्य उज्यालो बनाउने सपना बोकेर भारत गएका बिष्टको परिवारमा आज सन्नाटा छाएको छ।

पौष १५ गते भारतको देहरादुन पुगेका ५२ वर्षीया जोरासिंह बिष्टको त्यहीँ असामयिक निधन भएको दुःखद खबर परिवारमा आएपछि उनीहरूले देखेका सबै सपना सपनामै सीमित भएका छन्। प्रेसरका कारण अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लैजाँदै गर्दा नै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

जोरासिंह रोजगारीका लागि भारतको देहरादुनमा ज्याला मजदुरी गर्दै आएका थिए। परिवारको आर्थिक अवस्था कमजोर भएकाले दुई नाबालक सन्तान र श्रीमतीको खानपान तथा पठनपाठनको व्यवस्था गर्ने उद्देश्यले उनी भारत गएका थिए। तर नियतिले अर्कै मोड लियो।

मृतकको शव यही महिनाको १६ गते नेपाल ल्याइ दाहसंस्कार गरिएको थियो। बाबुको काजकिरियामा बसेका नाबालक छोराछोरी, सेतो कपडामा टाउको खौरिएका छोरा र शोकले थलिएकी श्रीमती प्रिमा बिष्टको रुवाइ र पीडा पुछिदिने आज कोही छैन।

११ बर्षिया मृतकका छोरा इमान बिष्ट हाल कक्षा ५ मा अध्ययनरत छन् भने ६ बर्षीया छोरी धिरजा बिष्ट ६  कक्षा १ मा मंगलासैनी माध्यमिक विद्यालयमा अध्ययनरत छन्। परिवारको एकमात्र कमाउने सदस्य गुमेपछि उनीहरूको भविष्य अन्योलमा परेको छ। दैनिक जीविकोपार्जनदेखि बालबालिकाको शिक्षासम्म गम्भीर समस्या देखिएको छ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले बालबालिकाको पढाइ निरन्तरता दिन आमा प्रिमा बिष्टलाई ठूलो समस्या परेको छ। स्थानीय बासिन्दा, आफन्त तथा शुभेच्छुकहरूले सम्बन्धित संघ, संस्था, सामाजिक अभियन्ता, शिक्षण संस्था तथा सहयोगी मन भएका व्यक्ति वा निकायलाई ती नाबालक बालबालिकाको खानपान र शिक्षामा सहयोग गरिदिन अपिल गरेका छन्।

यदि कुनै संस्था वा व्यक्तिले ती बालबालिकाको पढाइमा सहयोग गर्न वा अभिभावकत्व ग्रहण गरी शिक्षाको व्यवस्था मिलाइदिन सकेमा, एक बेसहारा परिवारको भविष्य उज्यालो बन्न सक्ने अपेक्षा उनका आफन्तहरूको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !