कालिकोट / नेपाल इन्भेस्टमेन्ट मेघा बैंक (NIMB) कालिकोट शाखाले सामुदायिक विद्यालयमा प्रविधिमूलक शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले मंगला शैनी माध्यमिक विद्यालयलाई १ लाख ९५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ। बैंकको सामुदायिक सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत उपलब्ध गराइएको सो रकम विद्यालयका प्रधानाध्यापक पंख बहादुर बिष्टलाई एक कार्यक्रमकाबीच शाखा प्रमुख रोहन कुमार बिष्टले हस्तान्तरण गर्नु भएको हो।
विद्यालयका प्रधानाध्यापक बिष्टका अनुसार प्राप्त रकमबाट ४ थान कम्प्युटर तथा स्टेशनरी सामग्री खरिद गरिएको छ। यसले विद्यार्थीहरूलाई कम्प्युटर प्रविधि शिक्षा सिक्न महत्वपूर्ण सहयोग पुगेको बताइएको छ।
सामान्यतया बैंकहरूले सदरमुकाममै केन्द्रित भएर विविध क्षेत्रका कार्यक्रममा CSR रकम खर्च गर्दै आए पनि यसपटक ग्रामिण क्षेत्रको विद्यालयमा प्रविधि शिक्षा विस्तारका लागि लगानी गरिएको शाखा प्रमुख रोहन बिष्टले बताए। उनका अनुसार बैंकले डिजिटल साक्षरताको विकासलाई प्रोत्साहित गर्न ग्रामीण विद्यालयमै प्रविधि पूर्वाधार स्थापना गर्ने लक्ष्यका साथ यो पहल गरेको हो।
विद्यालयका विद्यार्थीहरूमा कम्प्युटर सिकाइको पूर्वाधार निर्माण भएको छ भने स्थानीय अभिभावक र विद्यालय व्यवस्थापन समितिले बैंकको यस कदमप्रति धन्यवाद ज्ञापन गरेका छन्।










